फाइल तस्वीर ।
काठमाडौं – हिन्दु परम्परा अनुसार आज विजया दशमी । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसपालीको दशैंको टीका लगाउनु शुभसाइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । आफ्ना बुवा,आमाका साथै मान्यजनहरुबाट टीका तथा जमरा लगाई आशिर्वाद लिने चलन छ । दशैंलाई नेपालीहरुको महान चाडको रुपमा लिइ हर्षोल्लास रुपमा मनाइने परम्परा छ । विदेश तथा स्वदेशमा रहेका आम नेपालीहरु यस महान पर्वमा बुवा, आमा तथा आफन्त जनहरुसँग टीका लगाउन, भेटघाट र रमाइलो गर्न गाउँ घर फर्किने गर्दछन् ।
आज टीकाको कार्यक्रम सुरुगर्नु अघि बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्नुपर्छ । विजया दशमीका दिन बिहान नवदुर्गाको पुनः पूजा आराधना गरी जया, विजया, अजिता, अपराजितासहितका चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।
टीका र जमरा देवीको प्रसाद भएकाले देवी विसर्जनपछिको जुनसुकै समयमा टीका लगाउन सकिन्छ । टीका लगाउने उत्तम समय खोज्नेहरुका लागि मात्र १० बजेर २ मिनेटको साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताउनु भयो । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ । यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाइन्छ ।
नौदिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पूर्णीमाको दिनसम्म लगाउने गरिन्छ । पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाईन्छ । आजका दिन परिवारमा बुवा–आमा, हजुरबुवा हजुरआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद ग्रहणगरी यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद दिने लिने गरिन्छ ।