काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले दुई देशबीचको सीमा समस्या लगायत विभिन्न विषयमा भारतीय पक्षसँग आफुले विशेष महत्व दिंदै कुरा राखेको दावि गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष दूतको रुपमा भारत पुग्नु भएको नेता डा.महतले दुई देशबीच उत्पन्न समस्यालाई कूटनीतिक रुपमा समाधान गर्न जोड दिएको बताउनु भएको हो ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा भारत जानुभएका सह–महामन्त्री डा.महत नेतृत्वको टोलीले विदेशमन्त्री एस जयशङ्कर लगायतका विभिन्न व्यक्तिहरुको भेटका क्रममा नेपालको तर्फबाट आफ्नो धारणा प्रष्टसँग राखेको बताउनु भएको छ । सोमबार स्वदेश फर्किएका सह–महामन्त्री डा. महतका अनुसार भारत भ्रमणका क्रममा सीमा समस्यालाई सम्वाद र कूटनीतिक रुपमा समाधान गर्ने विषयमा छलफल भएको भन्दै ‘हामीले भारतीय विदेश मन्त्रीसँग भेट गर्यौं, उहाँसँग मुलतः नेपालका केही मुद्दाहरुलाई हामीले प्रमुख रुपमा उठायौं । वार्ता प्रक्रिया अगाडि बढाउनु र सीमा समस्या समाधान गर्नुभन्दा अर्को विकल्प छैन’ भन्नुभएको छ ।

नेता महतले ‘दुई देशको बहुआयामिक सम्बन्ध छ, बेलाबखत समस्याहरु उत्पन्न हुन्छन्, तर वार्ता संवादमार्फत् समाधान गर्न सकिन्छ, समाधान बिहीन कुनै समस्या हुन सक्दैन । चाहे सीमा समस्या होस्, चाहे व्यापारको समस्या होस्’ –भन्नुभएको छ ।
भारतीय उच्च तहका नेताहरुसँग आफूहरुले महाकाली तुइन प्रकरणको बारेमा पनि कुरा गरेको भन्दै नेता महतले ‘मैले भनें कि, हेर्दा सानो देखिन्छ, तर नेपाली जनताको भावनासँग जोडिएका कुराहरु छन्, यसमा भारत सरकारले पनि छानविन गरेर सम्बोधन गर्दा राम्रो हुन्छ । उहाँहरुले त्यसलाई सकारात्मक रुपमा लिनुभएको छ’– भन्नुभएको छ ।

त्यसो त भारतीय पक्षले भने महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको जवाफ दिएका छन् । आफूले भने नेपाली जनतासँग जोडिएको विषय भएकाले सरकारले छानबिन गरेर निष्कर्षमा पुग्न आग्रह गरेको काङ्ग्रेस सह–महामन्त्री डा. महतले बताउनु भएको छ । सहमहामन्त्री महतले भारतीय जनता पार्टी (भाजपा)ले नेपाली काङग्रेससँगको सम्बन्धनलाई उच्च महत्व र प्राथमिकता दिएको दावि समेत गर्नुभएको छ ।