काठमाडौं – भारत भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले नेपाल र भारतबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय–समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविक भएको बताउनुभएको छ । भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू) मा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो– “नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध हो, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी देखिनु पनि स्वभाविक हो ।”

उक्त विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र दिनदयाल अध्ययन केन्द्रद्वारा आयोजित अन्तक्र्रियामा उहाँले भन्नुभयो “धेरै नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ । उहाँले दुई देशबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्ने बताउनुभयो । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका डा.महतले केपी ओली नेतृत्वको सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका बीचमा असमझदारी बढेको धारणा राख्नुभयो ।

वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने धारणा राखेको पनि उहाँले बताउनुभयो । भारत भ्रमणमा रहनुभएको डा. महतसहितको काङ्ग्रेसको प्रतिनिधिमण्डललाई उक्त विश्वविद्यालयका चान्सलर भिके शुक्लाले स्वागत गर्नुभएको वनारसबाट डा. महतले बताउनुभयो । भारत भ्रमणमा रहनुभएका डा. महतसहित काङ्ग्रेस नेताद्वय उदय शमशेर राणा र अजय चौरसियाले नेपालका पुराना विद्वानका साथै राजनीतिक दलका नेताले सोही विश्वविद्यालबाट ज्ञान हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै वनारस हिन्दू विश्वविद्यालय दुई देशबीचको ऐतिहासिक सम्बन्धको सेतू हो भन्नुभएको थियो ।

सोही कार्यक्रममा महात्मा गान्धी विश्वविद्यालयका चान्सलरले नेपालको त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने बताउनुभएको थियो । भारतीय जनता पार्टीको आमन्त्रणमा चार दिनअघि भारत भ्रमणमा गएको सो प्रतिनिधिमण्डलमा काङ्ग्रेसका नेता उदय शमशेर राणा र अजय चौरसिया हुनुहुन्छ । सो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशङ्कर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो ।