काठमाडौं – अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, १७ वर्षीय हिमलाल नेपाली र २१ वर्षीय जीवन न्यौपाने रहेका छन् ।

से १ च १७६३ नम्बरको जीप कच्ची सडकमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा उक्त हताहती भएको डीएसपी तुलसीराम अर्यालले जानकारी दिनुभयो । “एक जनाको घटनास्थलमै र अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो,” डीएसपी अर्यालका अनुसार, “५÷६ जना सिट क्षमताको गाडीमा १७ जना सवार रहेको र कच्ची सडक भएकाले ओभर लोडका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।”

पञ्चदेवल विनायक नगरपालिका–१ कुईँकामा आइतबार राति साढे ११ बजे जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त दुर्घटना भएको अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रेफर गरिएको र त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उहाँको भनाइ छ ।