काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताउनुभएको छ । साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताउनुभएको हो । उहाँले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा सङ्घीयता कार्यान्वयन गर्न बाँकी रहेको बताउनुभएको छ । देशमा छिटो छरितो विकासका कामहरु अघि बढाउन बाँकी रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले जनताले भोटबाट प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको पुष्टि गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हाम्रो देशमा अरु धेरै कुराहरु गर्न बाँकी छ । अझै पूर्णरुपमा सङ्घीयता कार्यान्वयन गर्न बाँकी छ । छिटो छरितो विकासका कामहरु अघि बढाउनु छ । यहाँ केही कुरा आएका छन्, जनताको नाम सबैले लिन्छन् । जनता यो हो, जनता ऊ हो भन्छन् । जनताले भोटबाट देखाइहाल्छन् नि । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु कोही हुँदैन । एउटा कुरा सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक कोही हुन सक्दैन, कसैले अरु दुई किसिमको सपना नदेखे हुन्छ, हामी सबै पार्टी प्रजातन्त्रको लागि लडेरै आएका हौँ, त्यसैले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु हुन सक्दैन ।’

प्रधानमन्त्री देउवाले नेपालको कोरोना महामारीको नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताउनुभयो । उहाँले कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकहरुलाई भिसा दिएको बताउनुभयो । पूर्ण रुपमा कोरोना नियन्त्रण गर्न नसके पनि क्रमिक रुपमा नियन्त्रण गर्न सरकार सफल भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘अहिले नेपालमा एउटा कुरा के छ भने कोभिड १९ महामारीको जोखिमबाट अझै पनि पूर्ण रुपमा नियन्त्रण भइसकेको छैन। तर पनि अन्तर्राष्ट्रिय जगतले, विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद दिएको छ । बधाई दिएको छ । त्यसैले अहिले बेलायत सरकारले पनि कोभिडलाई धेरै नियन्त्रण गरेकोले नेपालीहरुलाई भिसा दिने निर्णय गरेको छ । नेपालीहरुलाई जानका लागि सजिलो बनाएको छ ।’

प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै शिक्षा आम नागरिकको मौलिक हक भएको बताउनुभयो । शैक्षिक व्यवस्थापनमा समयानुकूल सुधार गर्ने साथै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको उहाँको भनाइ छ । उहाँले साक्षरताको लागि निरक्षर र साक्षरको तथ्याङ्क यकिन गरेर तदनुरुप थप कार्यक्रम सञ्चालन सरकारले गरिरहेको बताउनुभयो ।