काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फी विरोध भएपछि उद्योगमन्त्रीमा नियुक्त भएको ७२ घण्टा पुग्दा नपुग्दै हमालले आज बिहान राजीनामा दिनुभएको हो । बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर हमालले राजीनामा पत्र बुझाउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।

हमालले आफू इमानको राजनीति गर्ने मान्छे भएकाले राजीनामा दिएर सरकारबाट बाहिरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो–‘म इमान र निष्ठाको राजनीति गर्ने मान्छे भएकाले मन्त्री नहुँदा पनि केही फरक पर्दैन । त्यसैले प्रधानमन्त्री देउवाजीलाई भेटेर राजीनामा बुझाएको हुँ ।’ हमालले आफूलाई नेताहरूले राजीनामा नदिन सुझाए पनि आफूले स्वविकेकले निर्णय लिएको बताउनुभयो । ‘नेताहरूले मलाई राजीनामा नदिनुस् भन्नु भएको थियो । तर, निष्ठाको राजनीति गर्नेलाई पद नभए पनि हुन्छ भन्ने सोचेर यो निर्णय लिएको हुँ,’ उहाँले भन्नुभयो ।

मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको समाचार सार्वजनिक भएपछि प्रधानन्यायाधीश राणाले आफूले कुनै भागबण्डा नखोजेको दाबी गर्नुभएको थियो । काङ्ग्रेसको कोटाबाट नियुक्त भए पनि हमाल प्रधानन्यायाधीश जबराको सिफारिसमा मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । यसअघि शनिबार काङ्ग्रेस महामन्त्री डा. शशाङ्क कोइरालासँगको भेटमा पनि हमालले अनावश्यक विवादमा तानिएकाले आफू राजीनामा दिने निर्णयमा पुगेको बताउनुभएको थियो ।