काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न परीक्षण केन्द्रमा १२ हजार ३१ वटा नमुना परीक्षण गर्दा ७६० जनामा पोजिटिभ पाइएको हो ।


पछिल्लो २४ घण्टामा ६ हजार १ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ३६ र पाँच हजार ८ सय ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी कोरोना भाइसरबाट सङ्क्रमित भएका मध्ये उपचारको क्रममा आज ११ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको सङ्क्रमणकै कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघिसकेको छ ।


आज सङ्क्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै २ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ४५ जना, ललितपुरमा ५७ जना र भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।