काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिन पछि बल्ल आज मन्त्रिपरिषदलाई पूर्णता दिनु भएको छ । प्रधानमन्त्री देउवाले गठबन्धन दलमा आवद्ध राष्ट्रिय जनमोर्चा बाहेक नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी दललाई समेटेर सरकारलाई पूर्णता दिनुभएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर राष्ट्रपति कार्यालयले जनाएको छ । आज नियुक्त नयाँ मन्त्रीहरु र कार्यभार फेरबदल गरिएका मन्त्रीहरु आजै शपथ ग्रहणपछि कार्यभार संहाल्दै हुनुहुन्छु ।

यस अघि काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा असार २९ गते सरकार गठन भएको थियो । पहिलो चरणमा काङ्ग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई गरी चार जना मन्त्री बनेका थिए । प्रधानमन्त्री देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नेक्रममा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री र तेस्रो पटक विस्तार गर्दै दुई हप्ता अघि परराष्ट्रमन्त्रीको रुपमा डा. नारायण खड्कालाई नियुक्त गर्नु भएको थियो । आज नियुक्त भएका मन्त्रीसहित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ ।