काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको छ । उहाँले आफ्नो पार्टी नेपाली काङ्ग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

सत्ता गठबन्धनको सहमतिअनुसार माओवादीले ५, जसपा र एकीकृत समाजवादीले ४÷४ मन्त्री पाउने भएका छन् भने काङ्ग्रेस बाहेक सबैले मन्त्रीको टुङ्गो लगाइसकेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले आजै मन्त्रीहरुको शपथ हुने जानकारी आएको बताउनुभएको छ । सो पार्टीबाट श्रेष्ठको नेतृत्वमा सरकारमा जाने निर्णय भइसकेको छ ।

स्रोतका अनुसार राजेन्द्र श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने भएका छन् ।