काठमाडौं – मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नयाँ मन्त्रीको सपथग्रहण कसरी गराउने भन्नेबारे छलफल गर्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शीतल निवास पुग्नुभएको हो ।

आज बिहान राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सपथका बारेमा छलफल भएको बताइएको छ । अहिले सपथबारे नयाँ कानुन बनिनसकेको र अध्यादेश समेत खारेज भैसकेकाले कुन कानुन अन्र्तगत सपथ खुवाउने भन्ने प्रश्न उठेको छ ।

यसअघि परराष्ट्रमन्त्रीका रुपमा सपथ खानुभएका डा.नारायण खड्काको सन्दर्भमा पनि विवाद सिर्जना भएपछि सोही कुरालाई मध्यनजर गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबीच आज छलफल भएको राष्ट्रपति निकट स्रोतले बताएको छ ।

राष्ट्रपति स्रोतले बताए अनुसार, ‘अध्यादेश खारेज भैसकेको छ । अर्को कानुन बनिसकेको छैन । त्यसैले परम्पराअनुसार नै सपथ गराइने तयारी भइरहेको छ’, ‘कहिलेकाहीँ परम्परा पनि कानुनअनुसार लागू हुन्छ ।’ राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेको भएता पनि उहाँले नयाँ मन्त्री नियुक्तिको सूची भने राष्ट्रपतिलाई नबुझाइ फर्किनुभएको बुझिएको छ ।

गठबन्धन भित्रकै दलहरुले मन्त्री बन्नेको सूची नबुझाएकाले प्रधानमन्त्री शीतल निवासमा पुगेर पनि मन्त्रीको सूची नबुझाइ फर्किनु भएको हो । आजै चार बजेपछि नयाँ मन्त्रीको सपथ ग्रहण गराउने आन्तरिक तयारी भैरहेको छ ।