शरद् ऋतुको आगमन चारैतिर मनोहक दृश्य, घरमाइला र रमाइला फाँटहरु, पहाड र तराईका फाँटहरुमा लहलह झुलेका पहेंलपुर धानका बाला हेर्दा पनि आनन्द लाग्ने मौसम । उत्तरमा चाँदी जस्तै टलक्क टल्किरहेका हिमाली श्रृङ्खला, वनपाखाका शीतल छहारीसँगै प्राकृतिक सौन्दर्यका छटाहरुले सजिएको सुन्दर र शान्त दृश्य, प्राकृतिक वातावरणमै रमेका चरा चुरुङ्गीहरुको चिरविर चिरविर आवाजका साङ्गीतिक आवाजहरु, मनलाई नै स्वर्गानुभूतिको आभाष हुने, साँच्चै नै नेपालमा यतिबेला साच्चै नै कति सुन्दर र लोभलाग्दो परिवेश अवर्णनीय प्राकृतिक सौन्दर्यको सङ्गम छ । न तातो न चिसो अनुकुल मौसम, विदेशी पर्यटकहरु समेत घुमघामका लागि भुतुक्कै हुने । ओइरो लाग्ने । हिन्दु संस्कृतिअनुसार प्राचीनकालदेखि नै वीरता र शौर्यको समर्थक बन्दै आएको पर्व हो दशैं ।
प्रत्येक व्यक्ति र समाजको रगतमा वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नै दशैं पर्व उत्सवका साथ मनाइन्छ । भगवान रामको पालादेखि नै यो पर्वको दिन अर्थात् विजयदशमीको दिन विजय प्रस्थानको प्रतीक निश्चित भएको भन्ने भनाइ रहेको छ । भगवान रामले रावणसित युद्ध गर्न यहि दिन प्रस्थान गरेकाले अर्थात् यस दिन भगवान रामचन्द्र चौध वर्षको वनवास जीवन भोगेर रावणको वध गरेर अयोध्या पुगेकाले पनि यस पर्वलाई विजय दशमी भनिएको हो ।
आदिमकालदेखि नै राष्ट्रिय पर्वका रुपमा मनाइंदै आएको चाडपर्वहरु गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरस सङ्क्रमणको महामारीले नेपाली समूदायका धर्म, संस्कृति, चाडपर्व, रीतिरिवाज सबै प्रभावित र प्रताडित बन्न पुगेका छन् । गत वर्ष जस्तै यस पटक पनि के गाउँ के शहर सबैलाई कोरोना कै सन्त्रासले तर्साएको छ । यस वर्षको दसैंमा सहर बजार मात्र होइन, गाउँ घरसमेत सुनसान छन् । एक किसिमको सन्नाटा र भयावह कायम छ, आफ्नै परिवारमा पनि । घर परिवारका बीचमा पनि कोरोना भाइरसको सङ्क्रमणको त्रासदिपूर्ण अवस्थाले पानी बाराबारको जस्तो स्थितिमा पुर्याइदिएको छ । रोजगारीका निम्ति विदेशी भूमिमा पसिना बगाएकाहरु, स्वदेशका शहर बजारमा श्रम गर्नेहरु यही चाडको मेसो पारेर आफ्ना बा–आमा, लालाबाल, परिवारजन र इष्टमित्र भेट्ने लालचामा गाउँघर जानेहरुको लर्को पनि राम्रै छ । विगतमा सप्तमी, अष्टमीका दिन उपत्यकाबाट अन्य जिल्लामा जानेहरुको ठूलो लर्को देखिन्थ्यो नागढुङ्गा–नौबिसे–पृथ्वी राजमार्ग खण्डमा ।
दसैंको नौरथा सुरुहुने वित्तिकै रमाइलो हुने गाउँघर होस् या सहर बजार, खासै चहल पहल र रौनकता छैन । शहरमा होस् या गाउँ घर, दसैंको सूचक मानिने पिङको कुनै नाम निसान छैन । हिजो शहरबजार गाउँघरका आँगन, चोक, चौतारामा देखिने लिङ्गे पिङ, र्वाँटे पिङ देख्नै मुस्किल छ । छन् त खेतका फाँटमा लहलह झुलेका धानका बालाहरु, आली र कान्लामा मासका बुट्यान, घरआँगनका छेउमा सयपत्री र मखमली फुलका केवल बासना मात्र ।
विजया दशमी सम्पूर्ण वर्ग र जातजातिहरुले हर्षोल्लासका साथ मनाउने पर्वको रुपमा लिइन्छ । शरद ऋतुमा वन ढकमक्क फुलेको छ, खेतमा लहलह धानका बाला झुलेसँगै बारीमा तरकारीहरु, फलफूलहरु फलेका र वर्षा थामिएको छ । टाढा टाढा प्रदेशमा गएका आफन्तहरु सँगको मिलनले कसको मन उल्लासित हुँदैन ? मिठो खाने राम्रो लगाउने र मनोरञ्जन गर्ने क्षण मात्र नभएर नातासम्बन्धलाई गाढा बनाउँने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउँने, पारिवारिक तथा सांस्कृतिक अवसरको रुपमा मनाइने दशैं कोरोनाका कारण सुनसान छ ।
गाउँघरमा भक्र्याईं ट्याई, भक्र्याईं ट्याई गर्ने न ढिकीको आवाज गुन्जिएका छन्, न त जाँतोको ¥वाई¥वाई आवाज नै । न गाउँ घर नै मगमग बासना आउने गरी चामलबाट बनाइने सेलरोटी नै पाके । विदेशमा रहेकाको त कुरै छाडौं स्वदेशमै भएका आफ्ना सन्तानलाई समेत पराई बनाइदियो कोरोना भाइरसको महामारीले ।
साँच्चै कोरोना भाइरसको सङ्क्रमणले उजाड र निरस बनाइदियो यो वर्षको दसैं । कतिका निम्ति त दशा नै बनेर आयो, कतिका घर परिवार नै उजाड बनाइदियो यो कोरोनाको महामारीले । नेपाल र नेपालीको संस्कृति र परम्परामाथि नै धावा बोल्यो कोरोनाले । दसैंको रौनकतालाई पीडामा डुवाइदियो यो महामारीले ।
कयौं बुढा बा–आमाका आँखाहरु थाके । आफ्ना सन्तानलाई भेट्ने र सँगै बसेर दसैं मनाउने तिर्सना मेट्ने अभिलाषा बोकी मलिन अनुहार लिएर पिँढिमा टुक्रुक्क बसेका बा–आमाका गहभरि आँसुमात्रै भरिदियो कोरोनाले ।