फाइल तस्वीर

बेनी– दसैँलाई लक्षित गरी मुस्ताङबाट करिब १२ हजार भेडाच्यांग्रा निकासी भएका छन ्। तिब्बतबाट भेडाच्यांग्रा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्यांग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको संख्यामा भेडाच्यांग्रा निकासी हुँदै आएको थियो । निकासी भएका सबै भेडाच्यांग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोख्रेलले जानकारी दिनुभयो । ‘स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५ सय ६० पुगेको छ’, उहाँले भन्नुभयो, ‘व्यापारीले संख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्यामा भेडाच्यांग्रा निकासी भएका छन् ।’

पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रु १५ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मात्रै संख्या टिपाउने गरेको पाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले थासाङ गाउँपालिका, बङ्गुर जोन र धवलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकसँग समन्वय गरेर भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो । कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो संख्यामा च्याङ्ग्रा र थोरै संख्यामा भेडा निकासी भएका छन् । यस वर्ष तिब्बतबाट भेडाच्यांग्रा आयात नभएका र मुस्ताङका घुम्ती गोठ तथा खोरपालेले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीले मूल्य बढाएका छन् । गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा रु पाँचदेखि १० हजारसम्म मूल्य बढेको व्यापारीले बताएका छन् । जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु पाँचदेखि ११ हजारसम्म मूल्य बढी तिर्नुपरेको बताउनुभयो ।

‘अघिल्लो वर्ष प्रतिगोटा रु २५ हजारसम्ममा खरिद गर्थ्यौँ। यस वर्ष रु ३५ हजारसम्म परेको छ’, उहाँले भन्नुभयो, ‘पोखरासम्म पु¥याएर बिक्री गर्दा रु ४० हजारसम्ममा बिक्री गर्ने हो ।’यस वर्ष डोल्पाबाट आएका चार हजार र बाँकी आठ हजार भेडाच्याङ्ग्रा मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायत स्थानका किसानले पालेका भेडाच्याङ्ग्रा बजारमा भित्र्याइएको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायत क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्रा बजारमा ल्याइसकेका छन् । बजारमा रोजा भेडाच्याङ्ग्रालाई रु ४५ हजारसम्म पर्ने गरेको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विशेष गरी लेकाली जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडा–च्याङ्ग्राको माग बढी हुने गर्दछ । —रासस