काठमाडौं – सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुङ्गो लगाएको छ । आज बिहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुङ्गो लगाएको हो ।

नेकपा (एकीकृत समाजवादी)ले स्वास्थ्य मन्त्रीमा रामकुमारी झाँक्रीलाई पठाउने तयारी गरेको छ । अहिले केहीबेरमा बस्ने सचिवालय बैठकले यसको निर्णय गर्ने भएको छ । पहिलो चरणमा रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई सरकारमा पठाउने तयारी गरिएको छ ।

भवानी खापुङलाई राज्यमन्त्रीमा पठाउने तयारी गरिएको एक नेताले जानकारी दिए । खतिवडालाई सहरी विकास मन्त्रालय दिने तयारी गरिएको छ भने आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने छन् । श्रेष्ठलाई श्रममन्त्री दिने तयारी गरिएको छ । खापुङले पाउने राज्यमन्त्रीको बारेमा निर्णय भइसकेको छैन । नेकपा एसका नेता वेदुराम भुसालका अनुसार सम्भावित नामहरु यिनै भए पनि बेलुकासम्ममात्रै अन्तिम टुङ्गो लाग्ने छ ।