काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध गर्दै आएको छ । त्यसलाई आज पनि निरन्तरता दिने तयारी एमालेले गरेको छ । यस अघि बसेको बैठक एमालेकै अरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद् पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ । सभामुख सापकोटाले ‘बाटो खाली नगरेसम्म अवरोध जारी रहने एमालेले जनाएको छ ।
संसदको अवरोध खुलाउने विषयमा सभामुख सापकोटा र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक समेत एमालेले बहिस्कार गरेको थियो ।