काठमाडौं – आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यो वर्ष मनसुन अझै सक्रिय छ । औसत समय कटेको ६ दिन बितिसके पनि मनसुन सक्रिय नै छ । मौसमविद्हरुका अनुसार सामान्यत नेपालबाट मनसुन अक्टोबर २ तारिकबाट बाहिरिन्छ । तर, यो वर्ष नेपालमा मनसुन अझै केही दिन सक्रिय रहने भएको छ ।

यद्यपि, भारतको राजस्थानबाट मनसुन हट्न थालेको र त्यो सर्दै नेपाल प्रवेश गरेर यहाँबाट पनि बाहिरिने गर्छ । “नेपालबाट मनसुन हट्न भारतको राजस्थानबाट मनसुन हट्न सुरु हुनुपर्छ । त्यहाँबाट हट्न सुरु भएको एक हप्तामा नेपालबाट बाहिरिन्छ,” मौसमविद् समीर श्रेष्ठ भन्छन्, तीनदिन अगाडिबाट राजस्थानबाट मनसुन हट्न सुरु भएको छ ।” अष्टमीसम्म रहने र त्यसपछि भने नेपालबाट मनसुन बाहिरिने उनले जानकारी दिए ।

यसैबीच, प्रदेश एक र गण्डकी प्रदेशका केही स्थानमा आज बिहान हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

काठमाडौंमा आज मौसममा बदली भइरहने र छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।