काठमाडौं – प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले २५ सदस्यीय मन्त्रिमण्डलमा पाँच जनाको भरमा तीन महिना देश हाँकिरहनुभएको छ । आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

हिजो बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

हिजो साँझ मन्त्रालय बाँडफाँडको विषयमा टुङ्गो लगाएसँगै आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको उहाँले बताउनुभयो । सत्ता गठबन्धनको बैठकमा भएको सहमतिअनुसार नेपाली काङ्ग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाउने भएको बताइएको छ ।