गठबन्धन दलको बैठक, फाइल तस्वीर ।

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तार आज पनि नहुने भएको छ । गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डाको विषयलाई लिएर पटक पटक बैठक बसेता पनि भ्याकुताको धार्नी पुग्न नसके जस्तै भएको छ । जनता समाजवादी पार्टीले सरकारमा जाने मन्त्रीहरुको नाम समेत दिन नसकेको त छँदैछ, गठबन्धनको सरकार गठन भएको तीन महिना पुग्नलाग्दा पनि सरकारले पूर्णता नपाउनु गठबन्धन दलका सदस्य दलहरुको नेतृत्व असक्षम सावित भएको छ ।


गठबन्धन दलहरुको यो असक्षमताले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पक्षमा जनसमर्थन जुट्दै गएको छ । हिजो सरकारमा रहँदा केपी ओली नेतृत्वको सरकार र एमाले पार्टीप्रति जनताको जुन खालको नफरत थियो, त्यो भन्दा बढि नफरत अहिलेको गठबन्धनको सरकारप्रति देखिएको छ ।


गठबन्धन दलका शीर्ष नेताहरुले आज या भोलिसम्ममा सरकारले पूर्णता पाउने भन्दै पटक पटक जनतालाई छल गर्दै आएका छन् । उनीहरुले मन्त्रालयको भागबण्डा मिलिसकेको र सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम पनि टुङ्गिसकेको बताएता पनि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन । गठबन्धन दलमा नेपाली काङ्ग्रेसको भागमा ८, माओवादी केन्द्रको भागमा ५, एकीकृत समाजवादी र जनता समाजवादीको भागमा ४÷४ मन्त्रालय परेको छ । तर कुन मन्त्रालय कुन दलले लिने भनेर अझै भागबण्डामा कुरा मिल्न सकेन ।


आज साँझसम्मका मन्त्रिपरिषद् विस्तार गर्ने भनिएको थियो । तर मन्त्रालयको टुङ्गो लगाउन नसक्दा आज पनि सरकार विस्तार हुने सम्भावना न्यून देखिएको छ । भोलि शुक्रबारसम्ममा मन्त्रिपरिषद् हुने नेताहरुले बताइ रहेका छन् । तर नेताहरुको भोलि कहिले आउने हो ? यो स्वयम गठबन्धन दलका नेताहरु नै अनभिज्ञ जस्ता देखिएका छन् ।