काठमाडौं –मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका गठबन्धनको दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै भोलिमात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई भोलि मात्रै पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार, ‘आन्तरिक तयारी नपुगेकाले भोलि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।’ ‘सकेसम्म आजै पूर्णता दिने कुरा थियो, तर सकिएन ।’ सत्ता गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको भागबण्डा मोटामोटी रुपमा मिलेता पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले आज पुनःगठबन्धनको निर्णायक बैठक बसेको थियो । बैठकमा नेकपा एकीकृत समाजवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्री मात्रै पाउने गरी भागबण्डा गरिएपछि थप एक मन्त्री पाउनुपर्ने जनाएको छ ।