काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले विद्यार्थी सङ्गठनहरु अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आज पत्रकारसँग कुरा गर्दै उहाँले देशको मुख्य समस्या राजनीतिमा भएकाले विद्यार्थी सङ्गठनहरु विगतमा त्यसैमा केन्द्रित हुनुपरेको बताउनुभएको हो । अब भने रचनात्मक र सिर्जनात्मक ढङ्गले शैक्षिक मुद्दामा लाग्ने उहाँको भनाइ छ ।

‘विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्ने । यो रचनात्मक र सिर्जनशील आन्दोलन पार्टीको एजेण्डा मात्रै बोक्ने आन्दोलन बनेको छ । यो कुरा हामीले गम्भीर अनुभूति गरेका छौं,’ उहाँले भन्नुभयो, ‘विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौं ।’ सिंहले आफ्नो सङ्गठनलाई वैचारिक र राजनीतिक रुपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको बताउनुभएको छ ।