काठमाडौं – राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको वसन्तपुर क्षेत्रमा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आज काठमाडौंको वसन्तपुर क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा नेता–कार्यकर्तामाझ शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।

वसन्तपुर क्षेत्रमा आयोजित उक्त कार्यक्रममा अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गरिएको छ । एमसीसी नेपाल र नेपाली जनताको सार्वभौमसत्ता तथा राष्ट्रवादमाथि प्रहार गर्ने योजना भएकाले तत्काल खारेज गर्नुपर्ने माग सहित एमसीसीको विरोध गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका परिकल्पनाकार चन्द्रबहादुर थापाले देश वर्तमान संसदीय व्यवस्थाबाट समृद्ध बन्न नसक्ने जिकिर गर्नुभयो । अहिले देशले राष्ट्रिय मुक्ति आन्दोलन खोजेको उहाँको भनाइ छ ।

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, राष्ट्रियताको विषयमा वर्तमान नेतृत्व र राज्यप्रणालीले जनताको अपेक्षा पूरा नगर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो –“सनातन धर्म पनि बचेन, धर्म–संस्कृति रहेन भने देश कसरी स्वाधीन रहन सक्छ ?”