काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।
यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काङ्ग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो । तर त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।
बैठकमा प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।