काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको र एकजना व्यक्तिको पार्टी जस्तो भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो –‘केपी ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेका छन्, च्यूत भइसकेको अब औपचारिक दिन हेर्नमात्रै बाँकी छ, त्यहाँ कुनै सामुहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रालिको रुपमा रुपान्तरित हुन थालेको छ ।’ नेता नेपालले नेता भानुभक्त जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गर्नुभएको छ ।

नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको धारणा समेत राख्नुभएको छ ।