काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताउनुभएको छ । आज पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।

उहाँले सबै उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई, अगाडि ल्याउन नयाँ प्रयास गरेको बताउनुभयो । यही प्रयास अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषद्मा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको प्रचण्डको भनाइ छ ।

माओवादी केन्द्रले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको थियो । माओवादीले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा सिफारिस गरेको थियो । सरकारमा पहिलेदेखि नै माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल रहँदै आउनुभएको छ ।

नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन बाँकी छ । अन्य दलहरुले पनि नाम टुङ्गो लगाएपछि आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।