काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । दलहरुबीच मन्त्रालय बाँडफाँडको टुङ्गो लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । तर काङ्ग्रेस र नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रालय बाँडफाँडलाई लिएर विवाद कायमै रहेको बुझिन्छ ।

काङ्ग्रेसमा रामचन्द्र पौडेल पक्ष र संस्थापन देउवा पक्षबीच कति मन्त्रालय लिने भन्नेमा विवाद छ । पौडेल पक्षले काङ्ग्रेसको भागमा आएका बाँकी पाँचमध्ये तीन मन्त्रालय मागे पनि देउवाले दुईमात्रै दिने बताउनुभएको छ । मन्त्रालय बाँडफाँड मिलाउनका लागि हिजो बेलुका देउवा र पौडेलबीच आन्तरिक छलफलमा देउवाले दुई मन्त्रालयमात्रै दिने भनेपछि पौडेल पक्ष बैठक नै छोडेर हिँडेको बताइएको छ ।

एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडलाई लिएर दलहरुबीच पुनः छलफल हुनुपर्ने माग गरेको छ । हालको गठबन्धनको सूत्रधार भएको नाताले आफूलाई अरु दलसरह व्यवहार गरिनुपर्नेमा राज्यमन्त्रीसहित चार मन्त्रालय दिने भनिएकोमा एकीकृत समाजवादी असन्तुष्ट बनेको छ । पार्टीभित्र आकाङ्क्षी धेरै रहेको र भागमा परेको मन्त्रालयले व्यवस्थापन गर्न कठिन परेकाले आज एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडबारे दलहरुबीच फेरि छलफल हुनुपर्ने र आफूले थप मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको छ ।

माओवादी केन्द्रले भने आफ्नो भागमा परेका मन्त्रालयमा जिम्मेवारी पाउनेहरुको नाम टुङ्ग्याएको छ । माओवादीका तर्फबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने हुनुभएको छ । माओवादीबाटै बोधमाया यादव राज्यमन्त्री बन्दै हुनुहुन्छ । यसैगरी जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अहिलेसम्म मन्त्री बन्नेको नाम टुङ्ग्याउन सकेको छैन । पार्टीबाट मन्त्री छान्ने जिम्मेवारी पाएका नेता उपेन्द्र यादवले आजै टुङ्गो लाएर नाम दिने तयारी गरेको बुझिएको छ ।