काठमाडौं – श्रमजीवी पत्रकारहरूका पक्षमा नेपाल पत्रकार महासङ्घले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । ’जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासङ्घ’ भन्ने नाराका साथ महासङ्घले आज काठमाडौंको माइतीघरमा ’बृहत् ऐक्यबद्धता’ प्रदर्शन गरेको हो । चाडपर्वका बेलासमेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको, कोरोनालाई देखाउदै सञ्चारगृहबाट पत्रकारलाई नै निष्कासन गरेको भन्दै पत्रकार महासङ्घको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी पत्रकारहरूले ’पेशागत अधिकार रक्षाका लागि आन्दोलन जारी छ, हामी पत्रकार चाहन्छौँ श्रम अधिकार, सञ्चारमाध्यमभित्रको श्रम समस्या समाधान गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा महासङ्घका उपाध्यक्ष रमेश बिष्टले अहिले आन्दोलनको सुरुवातमात्र भएको भन्दै पत्रकारको हकहितका लागि सञ्चारगृहका साथै सञ्चारगृहका सञ्चालकको घरको ढोका धर्ना दिने चेतावनी दिनुभयो । त्यस्तै महासङ्घका महासचिव रोशन पुरीले श्रम समस्या सम्बोधनका लागी महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घले पारिश्रमिकसँगै श्रमसँग जोडिएका अन्य समस्या समाधान हुनपर्ने माग अघि सारेको छ । त्यस्तै महासङ्घले अब पत्रकारको पक्षमा निरन्तर दबावमुलक कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।