काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता नगर्नेमा आफ्नो विश्वास रहेको बताउनुभएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिनुको साथै दण्डहीनता अन्त्य गर्दछ ।’

अपराधका नयाँ शैलीप्रति प्रहरी चनाखो हुन जरुरी रहेको भन्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीमा सङ्क्रमण फैलिन नदिन प्रहरीले गरेको योगदानको प्रशंसा गर्नुभएको छ । उहाँले भन्नुभयो –‘कोरोना महामारीको यस घडीमा सङ्क्रमण फैलिन नदिन प्रहरी कर्मचारीले अनवरत रुपमा गरेको योगदानको उच्च प्रशंसा गर्न चाहन्छु ।’

कार्यक्रमलाई संबोधन गर्दै देउवाले भन्नुभयो, ‘प्रहरी कर्मचारीहरु परिस्थितिको पर्वाह नगरी अझै उच्च मनोबलका साथ कार्य सम्पादनमा खटिने विश्वास लिएको छु ।’ प्रधानमन्त्रीले सरकार अमर प्रहरीका परिवारको साथमा रहेको बताउनुभएको छ ।