साङ्केतिक तस्बिर ।

बुटवल– कपिलवस्तुको कृष्णनगरमा झाडापखालाका कारण २ जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिकाका वडा नं ७ र ८ मा झाडापखालाका कारण २ जनाको मृत्यु भएको वडा अध्यक्षले बताउनुभएको छ । उहाँका अनुसार वडा नं. ९ का ५ वर्षीय राज काश्यप र वडा नं. ८ का ४० वर्षीय रामप्रसाद केवटको मृत्यु भएको हो ।

नगरका वडा नं. ७, ८ र ९ मा झाडापखाला र बान्ताको समस्या देखिएका ५२ जना रहेको र उनीहरुको अस्पतालहरुमा उपचार भइरहेको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिनुभयो । उहाँका अनुसार केही उपचारपछि घर फर्किएका छन् भने केहीलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । झाडापखालाको समस्या देखिएपछि स्वास्थ्य कार्यालयको टोली स्थानीयका घरमा पठाएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार अहिले झाडापखाला फैलिने र नयाँ बिरामी थपिने क्रम भने रोकिएको छ । उहाँले गाउँस्तरमा जनचेतनामूलक कार्यक्रम समेत थालेको बताउनुभयो ।