काठमाडौं – प्रतिनिधिसभा बैठकको सुरुवाती चरणमै नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी गरेका छन् । आज दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउने बित्तिकै एमालेका सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका हुन् । सभामुख सापकोटाले पटक–पटक सभाको बैठक सुचारु गर्न दिनका लागि आग्रह गर्दा पनि एमाले सांसदहरुले अवरोध गर्न छोडेनन् ।

सभामुखले संविधानको धारा १ सय ५ मा भएको व्यवस्था अनुसार अदालतमा विचाराधीन मुद्दाबारे संसदमा छलफल हुन नसक्ने स्मरण गराउनुभएको छ । यस्तै उहाँले प्रतिनिधिसभा नियमावलीको नियम २१ को ख ग र घ मा भएको व्यवस्थाको पनि स्मरण गराउँदै सदन अघि बढाउन आग्रह गर्नुभएको छ । एमालेले कारवाही गरेका १४ संसदमाथिको कारवाहीको सूचना टाँस वा सदनमा जानकारी नगराई सभामुखले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै सदन अवरुद्ध गर्दै आएको छ ।

एमालेको अवरोधका बीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ को प्रस्तुत गर्न समय दिनुभयो । कार्कीले सो प्रतिवेदन पेश गरेसँगै ८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक आगामी शुक्रबार दिउँसो १ बजे बस्ने गरी सकिएको छ ।