काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठक आज दिउँसो १ बजेपछि बस्नेछ । बैठकमा दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने प्रवक्ता दाहालले जानकारी दिनुभएको छ ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ तर, बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।