काठमाडौं – सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुङ्गो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । हिजो बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफबाट माओवादी केन्द्रले पाउने मन्त्रालयको बारेमा टुङ्गो लागेको माओवादी केन्द्रका एक नेताले बताउनुभएको छ ।

‘हामीले पाउने मन्त्रालयहरुको लगभग टुङ्गो लागेको छ ।’ माओवादी केन्द्रका ती नेताका अनुसार, ‘शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय हामीले पाउने भएका छौं । त्यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि हाम्रो भागमा परेको छ । थप युवा तथा खेलकूद मन्त्रालय हामीले पाउने भएका छौं ।’

यसअघि अर्थ र उर्जा मन्त्रालय पाइसकेको माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने टुङ्गो लागेको छ । देउवा र प्रचण्डबीच भएको छलफलबाट मोटामोटी टुङ्गो लागेको भएता पनि आज शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालयको भागवण्डालाई अन्तिम रुप दिइने स्रोतले बताएको छ । मन्त्रालयको भागवण्डा मिलेपछि दलहरुले आ–आफ्नो पार्टीमा छलफल गरेर मन्त्रीको नाम टुङ्गो लगाउने नेताहरुले बताएका छन् । माओवादी केन्द्रका एक नेताका अनुसार, ‘हाम्रो स्थायी कमिटी बैठकले मन्त्रीहरुको नाम टुङ्गो लगाउनेछ ।’