काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको महाशाखाले जनाएको छ ।