काठमाडौं – सामाजिक सञ्जाल ६ घण्टासम्म ‘डाउन’ भएका एप्सहरु फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थालेका छन् । नेपाली समय अनुसार गएराति ९ : ३५ बजेदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम संसारभर ‘डाउन’ भएका थिए । ६ घण्टापछि यी सञ्जालहरू पुनः सेवामा फर्किएका हुन् ।

यी तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो । फेसबुकले यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै माफी मागेको छ । डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरू रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ ।

तीनवटै सञ्जाल सुचारु भए पनि पूर्ण रूपमा सेवामा फर्किन अझै केही समय लाग्ने र त्यसका लागि निरन्तर प्रयास भइरहेको फेसबुकले जनाएको छ ।