काठमाडौं – सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको टिप्पणी गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सङ्घीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले इतिहासले आफूलाई सङ्घीय संसदको नेतृत्त्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर मनबाटै प्रण गरिरहेको बताउनुभयो ।

सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहोर्याउनुभयो । उहाँले संसदको कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सबैलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ । “हामीले जुन प्रण गरेका छौं–सङ्घीय संसदलाई जीवन्त र जनमुखी बनाउने । त्यो सूत्र बाक्यलाई मैले त सधैंभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु,” उहाँले भन्नुभयो, “सङ्घीय संसदको कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकतावद्ध होऔं ।” सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको बताउनुभयो ।