काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनुभएको छ । पार्टीका सङ्गठन विभाग प्रमुख समेत रहनुभएका पौडेलले पार्टी विचार, सङ्गठनसहित सबै हिसाबले एकतावद्ध रहेको दाबी गर्नुभएको छ । उहाँले विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पार्नुभयो । विधान महाधिवेशनसँग केन्द्रित रहेर कुरा गर्दै उपमहासचिव पौडेलले औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिनुभएको हो ।

‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरूमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रुपले बैठकको माईन्यूटमा दर्ज गर्नुपर्छ । औपचारिक रुपमा दर्ज भयो भने त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औपचारिक रुपमा फरक मत राखेन भने ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ’, पौडेलले भन्नुभयो ।

विधान महाधिवेशनमा फरक मत कसैले नराखेकोले विचारमा र सङ्गठनमा सबै हिसाबले पार्टी एकतावद्ध बनेको उहाँले दावी गर्नुभयो । विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको पनि उहाँले बताउनुभयो । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरूको निष्कर्ष सही सावित भएको उहाँको तर्क छ ।

उपमहासचिव पौडेलले माधव नेपालप्रति सङ्केत गर्दै स्वार्थवश केही साथीहरू अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरू पुनः फर्किने क्रम सुरु भएको पनि बताउनुभएको छ । पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गर्नुभएको छ ।