काठमाडौं – काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायातका साधनले सेवा बन्द गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द भएको हो । राष्ट्रिय यातायात व्यवसायी महासङ्घ सम्बद्ध सवारी भने फाटफुट रुपमा चलिरहेका छन् । सडकमा सार्वजनिक सवारी पातलो मात्रामा चल्दा यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य भएका छन् ।

महासङ्घका महासचिव केशव नेपालले बाग्मती प्रदेश सरकारले प्रदेशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाएपछि आन्दोलनमा जानु परेको बताउनुभयो । उहाँका अनुसार सोमबार सार्वजनिक सवारी सडकको किनारमा रोकेर विरोध प्रदर्शन गरिएको हो । सङ्घीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको गत असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाए पनि छोटो दूरीमा चल्ने सवारीको भाडा वृद्धि भएको छैन ।

कानुन अनुसार छोटो रुटहरुमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजनको अधिकार सम्बन्धित प्रदेश र स्थानीय तहरुलाई छ । आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएका महासङ्घका महासचिव केशव नेपालको भनाइ छ । एक यातायात व्यवसायीका अनुसार, ‘हामीले स्वघोषणा गरेर बढेको भाडा उठाउन थाल्यौं, तर धरपकड भयो, हामीलाई प्रहरीले लगेर थुन्यो ।’ उनले भने,’अहिले सयभन्दा बढी बसहरु प्रहरीकै नियन्त्रणमा छ, त्यसैले हामीले सेवा बन्द गरेका छौं ।’ चक्रपथमा चल्ने धेरैजसो कम्पनीले यातायात सेवा बन्द गरेका छन् । प्रदेश सरकारले भाडा बढाउन चासो नदिए, अब चोक–चोकमा सवारी तेस्र्याएर आन्दोलन गरिने चेतावनी महासङ्घले दिएको छ ।

प्रदेशभित्रका एउटा स्थानीय तहबाट अर्कोमा र एउटा जिल्लाबाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय तहभित्र सम्बन्धित स्थानीय सरकारले नै भाडा समायोजन गर्नुपर्ने हुन्छ । यातायात व्यवसायीले सङ्घीय सरकारले बढाएकै दरमा स्थानीय तह र प्रदेशमा चल्ने सवारीको भाडा समायोजन गर्न माग गर्दै आएका छन् । महासङ्घले पुरानै दरमा भाडा उठाउनुपर्दा सवारी सञ्चालनको खर्च पनि नउठ्ने अवस्था आएको बताएको छ । सबै प्रदेश सरकारले सङ्घको निर्णयअनुसार नै भाडा बढाउन दिने बताएता पनि निर्णयमा आलटाल गर्दाआफूहरु मारमा परेको व्यवसायीहरु बताउँछन् ।