काठमाडौं – विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवर्द्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न यो दिवस मनाउन सुरु गरिएको हो । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याविट्याट) को आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

‘तीव्र सहरी क्रियाकलापको लक्ष्य ः कार्बनरहित विश्व’ नाराका साथ यस वर्षको विश्व बसोबास दिवस मनाउन लागिएको विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले बताए । दिगो विकास लक्ष्यको लक्ष्य १.१ ले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ। यस वर्षको नाराले सहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो सहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखी न्यून कार्बन उत्सर्जन गर्ने गरी वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ। वातावरणमैत्री सहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने विभागको भनाइ छ ।

विश्व बैंकको तथ्याङ्कअनुसार सन् १९९० देखि हालसम्म सहरी जनसङ्ख्या चारगुणाले बढेर ४.२ अर्बभन्दा धेरै पुगेको छ। सहरीकरणका कारण वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढी विश्व तापमान एक तिहाइभन्दा धेरै भएको विभागले जनाएको छ । विश्वका सबै देशले बजेटको ठूलो हिस्सा सहरीकरणमा खर्च गर्दै सहरी व्यवस्थापनलाई मुख्य एजेण्डा बनाएका छन् । रासस