काठमाडौं – यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महागरपालिका १४, नखीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–१३, कुसुन्ती बस्ने २३वर्षीय सुरज गुप्ता रहेका छन् ।

लिखित परीक्षा पास गराई दिने, फास्ट ट्रायल मिलाई दिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाई दिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूले लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले बताउनुभयो । महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैं सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारबाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।