काठमाडौं– सरकारले ११ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरासहित सरकारले ११ जिल्लाका सीडीओहरुको सरुवा गरेको गृहमन्त्रालयले जनाएको छ । गृहका अनुसार हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो ।

इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत मोहनराज जोशीलाई डडेल्धुरामा पठाइएको छ भने डडेल्धुरामा कार्यरत हरि प्रसाद घिमिरेलाई गृहमन्त्रालय सिंहदरवारमा तानिएको छ । यस्तै मन्त्रालयले गृह मन्त्रालयमा कार्यरत सह–सचिव कमलराज ढकाललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा सरुवा गरेको छ भने जय नारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सिडीओ बनाएर पठाइएको छ ।

यस्तै कास्कीका सीडीओ थानेश्वर गौतमलाई गृह मन्त्रालयमा ल्याइएको छ भने त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यररत प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको सीडीओ बनाएर पठाइएको छ । यस्तै डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोम बहादुर महत, मनाङमा रविन्द्र प्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनुज कुमार घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । लमजुङका सीडीओ होमप्रसाद लुईँटेल र रसुवाका सीडीओ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ । यस्तै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौंको जेलर बनाएर पठाएको गृह मन्त्रालयले जनाएको छ ।