काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचेकै कारण एकथरीलाई चिन्ता बढेको बताउनुभएको छ । उहाँले मिर्गौला प्रत्यारोपण गरेको मान्छे खुसुक्क केही भइहाल्छ कि भन्ने सोचमा रहेकाहरु आफू बाँचिरहेका कारण चिन्तित भएको बताउनुभएको हो ।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रस्तावमाथिको सुझावबारे जवाफ दिँदै ओलीले भन्नुभयो, ‘दुईटा कुराले उनीहरु चिन्तित छन्, एउटा त म बाँचिरहेकाले चिन्तित छन् । अर्को, कार्यकर्ता र जनताले असाध्यै माया गर्छन् ।’

उहाँले फाटोवादविरुद्ध जुध्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिस्ट आन्दोलनको एकता र विकासका लागि फाटोवाद एकदमै हानिकारक छ ।’

आलोचकहरूले एमालेमा बोल्न पाइँदैन भन्ने गरेको, देवत्वकरणका कुरा उठाउने गरेको ओलीको भनाइ छ । उहाँले नेतृत्वका वरिपरि पार्टी र आन्दोलन एकत्रित हुने प्रस्ट पार्दै भन्नुभयो, ‘पुष्पलालले अघि सारेका सिद्धान्त वरिपरि हामी छैनौं ? मदन भण्डारीका सिद्धान्तका वरिपरि हामी छैनौं ?’