काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि मापदण्ड तोकेको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको प्रथम विधान महाधिवेशनले केन्द्रीय कमिटी सदस्यका लागि ६ बुँदामा मापदण्ड बनाएको हो ।

नवौं महाधिवेशनले पारित गरेको विधानलाई परिमार्जन गर्दै प्रथम विधान महाधिवेशनले केन्द्रीय समिति उम्मेदवार बन्नका लागि मापदण्ड बनाएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रस्तावित विधानको धारा ५४ मा गरिएको व्यवस्था अनुसार केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भइ काम गरेको हुनुपर्नेछ । त्यस्तै, राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य भइ काम गरिसकेको वा प्रदेश कमिटीको सदस्य भइ काम गरेको वा केन्द्रीय विभागको सचिव अथवा सदस्य भइ काम गरेको हुनुपर्नेछ ।

यसैगरी जिल्ला कमिटीको पदाधिकारी भइ एक कार्यकाल वा सदस्य भई दुई कार्यकाल काम गरेको अथवा कम्तीमा १० वर्ष पार्टी सदस्य भइ काम गरेको व्यक्तिले पनि केन्द्रीय कमिटी सदस्यको उम्मेदवार बन्न पाउने भएका छन् । यद्यपि, दलित, महिला सीमान्तकृत जनजाति, अपांगता भएका व्यक्तिका हकमा भने एक कार्यकाल जिल्ला कमिटी सदस्य र ७ वर्ष पार्टी सदस्य भए केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्न सक्ने उपमहासचिव पौडेलले जानकारी दिनुभयो । तीन दिनदेखि जारी एमालेको विधान महाधिवेशन आजै समापन गरिँदैछ ।