काठमाडौं- उपत्यकाको छोटो दूरीमा चल्ने सवारी साधनले आफूखुसी भाडादर तोक्न थालेका छन् । उपत्यकाका यातायात व्यवसायीले हिजो देखि भाडादर बढेको भन्दै आफूखुसी भाडादर तोक्न थालेका हुन् । पछिल्लो समय छोटो दूरीमा चल्ने सवारी साधनले १४ रुपैयाँ पर्ने गाडीभाडा २० रुपैयाँ र २० रुपैयाँ पर्ने गाडी भाडा बढाएर ३० रुपैयाँसम्म पुर्याएका छन् । यात्रुले सोधीखोजी गरेमा देखाउनलाई बढेको भाडाको नक्कली सूची समेत सवारीमा राख्दै आएका छन् ।

व्यवसायीले आफूखुसी भाडा तोकेर यात्रु ठगेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिनमा १ सय १९ वटा सवारीलाई सामान्य कारबाही गरिसकेको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो ६५ वटा र आज ५४ वटा सवारीलाई कारबाही गरिसकेको बताएको छ । यात्रुबाट महँगो भाडा लिएको उजुरी परेपछि लिएको बढी भाडा फिर्ता गराउँदै आएका छौं । तर, आज ५४ वटा सवारीले भाडा फिर्ता नगर्ने भन्दै सडकमै सवारी छाडेर चालक र सहचालक हिँडेको ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । ट्राफिक प्रहरीले अहिले बढी भाडा लिने सवारीलाई भाडा फिर्ता गराउँदै र सम्झाएर छाड्दै आएको छ । भाडा फिर्ता गर्न नमान्ने सवारीको कागजपत्र हेर्ने र आवश्यक परे यातायात व्यवस्था विभागमा पठाउँदै आएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले छोटो दूरीको सवारी भाडा बढाउने कुनै पनि निर्णय नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘उपत्यकाको सवारी भाडा बढाउने अधिकार बागमती प्रदेश सरकारसँग छ । तर, प्रदेश सरकारले अहिलेसम्म भाडा बढाएको निर्णय गरेको छैन ।’ प्रदेशले नै भाडा बढाउने निर्णय नगरेकाले उपत्यकाका छोटो दूरीका सवारीले आफूखुसी भाडा तोक्दै यात्रु ठग्न थालेको पाइएको विभागले जनाएको छ । यस सम्बन्धी आवश्यक छानबिन र कारबाही भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक घिमिरेले उल्लेख गर्नुभयो ।

सवारी चालक भन्छन् हिजोदेखि भाडादर वृद्धि भएको छ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ भन्छ –उपत्यकाभित्रका छोटो दूरीको सवारी भाडादर बढेको सम्बन्धी कुनै जानकारी नै छैन । तर, प्रदेश सरकारले भाडा समायोजनमा ढिलासुस्ती गर्दा व्यवसायी आजित भएको र आफूखुसी भाडा बढाएको हुन सक्ने महासङ्घको भनाई छ । यसरी यात्रुहरुसँग झुठ बोली ठगी गर्दै आफूखुशि भाडा लिन थालेपछि उजुरी परेका सवारी साधनका चालक र सहचालक भाडा फिर्ता दिनुको साटो सवारी नै सडकमा छोडेर जाने गरेको ट्राफिक प्रहरीले जनाएको छ । हिजो र आजमा मात्रै बढी भाडा लिएको भन्दै उजुरी परेका ५४ वटा सवारी साधन सडकमै छाडिएका छन् ।