काठमाडौं – नेकपा (एमाले)को गत शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । विधान महाधिवेशनको तेस्रो दिन आज राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।

आज बिहान प्रदेश एक, प्रदेश दुई र गण्डकी प्रदेशका साथै जनवर्गीय सङ्गठन समूहका नेताहरुले आ–आफ्नो समूहको छलफलको निष्कर्ष प्रस्तुत गर्नुभएपछि समूहगत छलफलको रिपोर्टिङ सकिएको हो । प्रदेश नं एकबाट देवराज घिमिरे, प्रदेश नं दुईबाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाउनुभएको थियो ।

त्यस्तै, जनवर्गीय सङ्गठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ गर्नुभएको थियो । समूहगत रिपोर्टिङ सकिएपछि प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ शीर्ष नेता केपी शर्मा ओलीले दिएर महाधिवेशन आज नै समापन गरिने कार्यक्रम रहेको छ ।