फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तागठबन्धन कार्यदलको बैठक जारी छ । मन्त्रालयको भागबण्डा टुङ्ग्याउन आज बिहान ९ बजेदेखि बालुवाटारमा बैठक बसिरहेको छ । सरकार बनेको तीन महिना पुग्न लाग्दासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बुझिन्छ ।

गत असार २९ मा प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले तीन महिना बित्नै लाग्दासम्म पनि जम्मा ६ मन्त्री नियुक्त गरी अठार मन्त्रीको भारी आफैँले बोक्दै आउनुभएको छ । काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काङ्ग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिहरु सहभागी हुनुहुन्छ । काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना सङ्क्रमण भएकाले आजको बैठकको संयोजन कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गरिरहनुभएको बुझिएको छ । गत आइतबार गठबन्धनका शीर्ष नेताको बैठकपछि आज मात्र गठबन्धन कार्यदलको बैठक बसेको हो ।

यस बीचमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिरामी भएकाले शीर्ष नेताहरुको बैठक बस्न नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने भनिएता पनि अझै मन्त्रालयको भागबण्डा मिल्न सकेको छैन । कार्यदलबाटै एउटा सहमति जुटाएर शीर्षनेताहरु बसेर मन्त्रिपरिषद् विस्तार गरिने जसपा अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ ।

उहाँका अनुसार मन्त्रालयको भागबण्डा कार्यदलकै छलफलबाट टुङ्ग्याउने गरी छलफल अगाडि बढिरहेको छ । कार्यदलले मन्त्रालयको भागबण्डा टुङ्गिएपछि शीर्ष नेताहरुको बैठक बस्ने उहाँको भनाइ छ । संख्यागत रुपमा काङ्ग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । तर यतिबेला काङ्ग्रेसले आठ मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ ।