काठमाडौं – नेपाली काङ्ग्रेसका नेता गगन थापाले नागरिकको बीचमा गएर भरोसा जगाउन सक्ने नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीलाई चाहे खुल्ला मञ्च होस् चाहे सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काङ्ग्रेस चाहिएको छ । नागरिकहरुको टुटेको मन जोड्ने काङ्ग्रेस चाहिएको छ ।’ काङ्ग्रेस अहिलेको यथास्थितीवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ । उहाँले भन्नुभयो –‘आज जसरी चलेको छ यसले यसले काङ्ग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन ।’

नेता थापाले काङ्ग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको बताउनुभयो । तहगत अधिवेशनले काङ्ग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । आगामी तीन तहको निर्वाचनबाट काङ्ग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । सम्पूर्ण कम्युनिस्ट र मधेसवादी दल मिले पनि काङ्ग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न थापाको आग्रह छ ।

काङ्ग्रेसका नेता थापाले भन्नुभयो–‘काङ्ग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिस्ट, मधेसवादी मिले भने पनि काङ्ग्रेसले जित्ने गरी काम गर्नुपर्छ । हामीले पाँच वर्ष सरकार चलाउनका लागि एक्लै बहुमत ल्याउनुपर्छ ।’