काठमाडौं – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह ले १४ औं महाधिवेशनबाट आफूलाई सभापति जिताउन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उहाँले उक्त आग्रह गर्नुभएको हो । नेता सिंहले उपत्यकावासीले बाहिरबाट आएका नेताहरुलाई मात्र अघि बढाएको भन्दै दुःखेसो पोख्नुभयो । उहाँले उपत्यकाले आफ्नो नेतालाई सँधै सानो देख्ने र बाहिरबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको बताउनुभयो ।

‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो । अरुको झोला उपत्यकावासीले कहिलेसम्म बोक्ने ?’ उहाँको प्रश्न छ, ‘गणेशमानको छोरा भएर म सभापति बन्न नपाउने हो ?’ उहाँले १४ औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र काङ्ग्रेसलाई सक्षम बनाउनका लागि आफु ‘फस्ट म्यान’ बन्न अघि बढेको बताउनुभयो । ‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मङ्गलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो,’ उहाँले भन्नुभयो, ‘अरुको छोराहरूले त अवसर पाएका छन् त !’

उहाँले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभएको छ । वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले विश्राम लिनुपर्ने उहाँको भनाई थियो । ‘१३ औं महाधिवेशन पश्चात् उहाँहरुले अवसर त पाएकै हो नि, तर क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन’ उहाँले भन्नुभयो, ‘अनि किन गुणगान गाउने ?’

नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएको बताउनुभयो । २०७४ सालको निर्वाचनमा काङ्ग्रेस नराम्ररी पराजित भएसँगै सभापति देउवा असफल नेता भएको र आफुले उहाँको राजीनामा मागेको बताउनुभयो । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेल्धुरामा जिल्ला सभापतिलाई बाइपास गरेर शक्ति प्रदर्शन गरेको समेत सिंहको आरोप थियो । सिंहले सभापति देउवाले नेपाली काङ्ग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप लगाउनुभयो ।