काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुमाथि समूहगत छलफल भइरहेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवम् सङ्गठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो ।

महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधि सहभागी भएका छन् । १० वटा समूह बनाएर तीनवटै प्रस्तावमाथि बिहान ८ बजेबाटै छलफल सुरु गरिएको पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरुलाई जिम्मेवारी दिइएको छ भने महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न ५ वटा कमिटी गठन गरिएको छ । समूहगत छलफल सकिएपछि पूर्ण बैठक बस्ने जनाइएको छ र त्यसपछि समूहको निष्कर्ष सुनाइनेछ । समूहको निष्कर्षपछि महाधिवेशन भोलि समापन हुनेछ ।