काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको ११ वटा नगरपालिका मध्ये पालिका तह अधिवेशन आज हुँदैछ । एघार स्थानीय तह रहेको सङ्घीय राजधानी काठमाडौंमा १० पालिकाको मात्र अधिवेशन आज हुन लागेको हो । जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार दक्षिणकाली नगरपालिकाको भने अधिवेशन रोकिएको छ । वडा नम्बर २ को वडा अधिवेशन हुन नसक्दा अधिवेशन रोकिएको अधिकृत आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“वडाको पटकपटक अधिवेशन गर्न खोज्दा सकिएन त्यसैले अधिवेशन रोक्नु पर्यो, केही दिनभित्र हामी अधिवेशन गर्छौंं ।”

उहाँका अनुसार पालिकाहरुको सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको छ । सबैभन्दा ठूलो काठमाडौंं महानगरमा भने निर्वाचन नै हुने भएको छ । निर्वाचन हुने पालिकाको हकमा समितिले भोलि साँझसम्म अन्तिम नतिजा दिने तयारी गरेको छ । उहाँले भन्नुभयो –“निर्वाचन भयो भने पनि भोलि साँझसम्म हामी नतिजा दिने तयारीमा छौं ।”