काठमाडौं — सल्यानमा जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान–रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु २ च ५७०१ न को जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएकोे जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ ।
शिवजन मा.वि.मा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेहरुको छाती तथा मुखमा चोट लागेको र अवस्था जटिल भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

जिपमा सवार चारजना भने सकुशल थिए ।  जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वली फरार रहेकाले उनको  खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिनुभयो । — रासस