काठमाडौं – संसदीय दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय रहेको बताउनुभएको छ । आजबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव संक्षेपीकरण गर्दै अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको आरोप लगाउनुभएको छ ।

विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो– ‘बाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिइ विस्थापित गर्ने योजनामा पुष्पकमल दाहाल–प्रचण्ड र माधवकुमार नेपाल लगायत तिनै पात्रहरू क्रियाशील थिए, जसले ७४ पछि मेरो नेतृत्वको सरकार असफल बनाउन उही घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे ।’

ओलीको भन्नुभएको छ –‘आफैले प्रस्ताव गरेको आफ्नो पार्टी सम्मिलित सरकारले नाकाबन्दीको सामना र पारवहन सन्धिजस्ता दुरगामी उपलब्धि गरेको सरकारलाई ढाल्न प्रचण्डद्वारा अविश्वासको प्रस्ताव पेश गरियो । यो षडयन्त्र प्रचण्ड लगायतका नेताहरुभित्र निहित अवसरवाद, विभाजन र बाह्य शक्तिको सेवा गर्ने चरित्रको भद्दा दृश्य थियो ।’