फाइल तस्वीर
कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो । विश्वव्यापी रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएको पर्यटकीय गतिविधि निकुञ्जमा खुला गरिएको हो । हात्ती सफारीबाहेकका पर्यटकीय गतिविधिका लागि निकुञ्जमा नियमानुसार अनुमति लिई प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो ।
जङ्गल सफारी, जङ्गल वाक, ¥याफ्टिङ तथा डुङ्गा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि खुला गरिएको उहाँले जानकारी दिनुभयो। ‘निकुञ्ज प्रवेश गर्नेले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण रूपमा पालना गर्नुपर्ने छ’, उहाँले भन्नुभयो, ‘अनिवार्य रूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने र जङ्गल सफारी तथा जङ्गल वाकमा जाँदा अनिवार्य रूपमा नेचरगाइड साथमा हुनुपर्ने छ ।’
उहाँका अनुसार जङ्गल वाकको हकमा एउटा गाइडले तीन र दुई गाइडले १० पर्यटकलाई गाइड गर्न पाउने छन् । तोकिएको रुटमा मात्रै जङ्गल ड्राइभ, जङ्गल वाक, क्याम्पिनिङ तथा फिसिङ गर्न पाइने छ । कोरोना महामारीका कारण बन्द रहेको निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जको प्रमुख विशेषताका रूपमा ५४ दशमलव पाँच वर्गकिलोमिटरमा फैलिएको घाँसेमैदान र त्यसमा विचरन भइरहने बाह्रसिङ्गेको ठूलो बथान हो ।
सबैभन्दा बढी पर्यटकले बाह्रसिङ्गेको बथान हेर्ने गर्दछन् । बाघको संख्यालाई र बाघ पाइने क्षेत्रलाई हेर्ने हो भने सानो क्षेत्रमा बाघको घनत्व बढी भएको क्षेत्रका रूपमा सो निकुञ्ज रहेको छ । निकुञ्जमा ३६ प्रकारका स्तनधारी, १२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली र ४ सय ५० प्रजातिका चरा पाइने गर्दछन् । हात्ती र गैँडासमेत निकुञ्जमा रहेका छन्। निकुञ्जमा पुग्ने पर्यटकको आकर्षणका रूपमा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, कृष्णसार संरक्षण गरिएको हीरापुर क्षेत्र, झोलुङ्गे पुल र कालिकिच ताल रहेका छन् । रासस